उपनिर्वाचनका लागि करिब १७ सय कर्मचारी खटाइने

तु खबर संवाददाता
२०८१ बैशाख १०, सोमबार १०:२४

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि करिब १ हजार सात सय कर्मचारी खटाइने भएको छ ।

निर्वाचन आयोगले यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उक्त संख्यामा कर्मचारी परिचालन गर्न लागेको जनाएको छ ।

आयोगले इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने जानकारी गराएको हो ।

आयोगले त्यसको लागि निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

आयोगका अनुसार, प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ ।

उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने जनाइएको छ ।