चौथो हेटौंडा मेयर कपको उपाधि वडा नम्बर ४ ले हात पार्यो
मकवानपुर । चौथो हेटौंडा उपमहानगरपालिका वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा–४ ले हात पारेको छ ।
हेटौंडा–५ स्थित पिप्ले रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा हेटौंडा–१४ लाई पराजित गर्दै वडा नम्वर ४ ले उपाधि हात परेको हो ।
हेटौंडा–४ ले १४ नम्वर वडालाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित गरेको हो । उपाधि कब्जा गरेको वडा नम्बर ४ ले नगद २ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै, उपविजेता टिम वडा नम्वर १४ ले नगद १ लाख ५० हजार रुपैयाँमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने तेस्रो हुने हेटौंडा १५ र चौथो हुने १३ नम्बर वडाले क्रमशः ५० र २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हेटौंडा–४ का खेलाडी अनिश महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी, विधागततर्फ हेटौंडा–१४ का फरवार्ड अनुप रानामगर र डिफेण्डर सुविन धमला, हेटौंडा–४ गोलरक्षक निरज देउला, मिडफिल्ड दीपेश भण्डारी उत्कृष्ट घोषित भए । त्यस्तै, प्रशिक्षकमा हेटौंडा–४ का शंकर खड्ग उत्कृष्ट घोषित हुँदा हेटौंडा–१५ का विश्वास भोलन सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरुले जनही नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे ।
उक्त प्रतियोगितामा हेटौंडाका १९ वटा वडाको सहभागिता रहेको थियो ।