स्थगित प्रतिनिधि सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० चैत्र २८, बुधबार ०८:४६
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । मंगलबार स्थगित गरिएको प्रतिनिधि सभा आज बस्ने गरी बोलाइएको हो ।

बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । सो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्नेछन् ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८०’ पेस गर्नेछन् भने अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।