इलाम–२ को मुख्य निर्वाचन अधिकृतमा घिमिरे
इलाम । इलाम–२, उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकिएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भने भोलि चैत्र २२ गते बिहीबार इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिनेछ ।
उपनिर्वाचन कार्यतालिकाअनुसार चैत्र २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।