बागमती प्रदेशः नवनियुक्त मन्त्री मगरले लिइन् शपथ
मकवानपुर । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मगरले विना विभागीय मन्त्रीको शपथ लिएकी हुन् ।
उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेश सभा सदस्य बनेकी मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत प्राप्त गरेपछि विना विभागी मन्त्रीमा नियुक्त गरेका थिए ।
नवनियुक्त विना विभागीय मन्त्री मगरले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।
सो सचिवालय अनुसार, आगामी एक साताभित्रै थप मन्त्रिपरिषद् विस्तार गरी विना विभागी मन्त्री बनेकी मगरलाई कुनै एक मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
शपथ ग्रहण कार्यक्रममा प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।
