बागमती प्रदेश सभामा प्रदेश हस्तकलाग्राम विधेयक प्रस्तुत

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १६:३७

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा प्रदेश हस्तकलाग्राामको स्थापना तथा संचालन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरिएको छ ।

प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो अर्थात आज बसेको दोस्रो बैठकमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उक्त अवसरमा प्रस्तावको छलफलमा उठेका विभिन्न जिज्ञासाहरुलाई मन्त्री चित्रकारले जवाफ दिँदै काठमाडौं उपत्यका लगायत अन्य सहरमा हस्तकला प्रविधिलाई गुरु योजनाको रुपमा अघि बढाउँदै लैजाने प्रदेश सरकारको नीति रहेको बताए ।

उनले परम्परागत सीपलाई नयाँ प्रविधिबाटै युवा समूहलाई प्रोत्साहन गरी गुणस्तरीय हस्तकलालाई बाह्य मूलुकमा निर्यातको लागि सरकारले विभिन्न अवसरहरु दिलाउनको लागि छिट्टै ऐन कानून तर्जुमा गर्न लागिएको जानकारी दिए ।

उक्त बैठकमा सो प्रस्तावको सैद्धान्तिक पक्षमा मात्रै छलफल भएको थियो ।

सोही बैठकले उक्त प्रस्तावलाई सम्बन्धित समितिमा पूर्ण छलफलमा पठाउनका लागि स्वीकृती प्रदान गरेको छ ।

प्रदेश सभाको अर्को बैठक यही फागुन २९ गते दिनको ३ बजे बस्ने सभामुख भुवनकुमार पाठकले बताए ।