उपनिर्वाचन: फागुन २८ गते मतदाता नामावली सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि यही फागुन २८ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।
आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको हो । यस कार्यक्रम अन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइट ( https://election.gov.np/) मा मतदाता नामावली सार्वजनिक गरिने भएको हो ।
उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उक्त अवधिमा अनलाइन https://applyvr.election.gov.np/ वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने उनले बताए ।
यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने उनको भनाई छ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली मिति २०८० चैत्र २२ गते सार्वजनिक गरिनेछ ।