निर्वाचन आयोगद्वारा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

तु खबर संवाददाता
२०८० फाल्गुन १४,सोमबार १६:१०

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी वैशाख १५ गते इलाम र बझाङ जिल्लामा हुने उपनिर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार, मिति २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

सो उपनिर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गतेदेखि ३० गतेसम्मको म्याद दिइएको छ ।

त्यस्तै, आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम संचालन हुनेछ ।

निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने सहायक प्रवक्ता उपसचिव एवम् डा. थानेश्वर भुसालल बताए ।

यसैगरी, चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ भने २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने जनाइएको छ ।