राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत

तु खबर संवाददाता
२०८० फाल्गुन १३,आईतवार १७:३१
file-photo

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेस भएको छ ।

गत फागुन १० गते बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त विधेयक प्रतिनिधिसभामा पेस भएको हो ।

विधेयक प्रस्तुत गर्न नेमकिपा सांसद प्रेम सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक प्रस्तुत गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात् सो अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिक व्यवस्था कायम राख्न आवश्यक देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेको श्रेष्ठले बताए ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।