अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, झापा, कपिलवस्तु, बाँके, कैलाली, सुर्खेत, सप्तरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम ३८ मिलिग्रामसहित बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१७ बस्ने ३५ वर्षीय अनबर अली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, झापाको दमक नगरपालिका–६ दमक पश्चिम जेशिस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय २ ग्रामसहित गौरीगंज गाउँपालिका–३ रिमाल टोल बस्ने १९ वर्षीय गगन रिसिदेवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त घटनामा सोही ठाउँ बस्ने २७ वर्षीय रविन पासवान समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनलाई दमक नगरपालिका–६ थाना लाईनबाट पक्राउ गरेको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ घर बताउने १९ वर्षीय निराज मण्डल र सोही नगरपालिका–६ घर बताउने १९ वर्षीय राहुल चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ बनगाई पचेहरास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयबाट पिपराबाट खटिएको प्रहरीले लु.२२ प ७५० नम्बरको मोटरसाइकलललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.३ प.२७१३ नम्बरको मोटरसाइकललाई समेत जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जना व्यक्ति मोटरसाइकल छोडी फरार भएका छन् । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
त्यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह टंकपसरी गाउँबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोल बस्ने २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय ५० मिलिग्रामसहित प्रहरीले २ जनालाई बिहीबार बेलुकी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ बस्ने ३० वर्षीय शिवदास राना र २० वर्षीय बिरेन्द्र राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० पदमपुर बस्ने २३ वर्षीय बिकाश विकलाई अवैध लागूऔषध ब्राउनसुगर १ सय ३० मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता, सप्तरीको खड्क नगरपालिका–३ बनरझुला टोल बस्ने ६० वर्षीय तारा प्रसाद चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ४ सय ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।