कांग्रेस महासमिति बैठकमा उठ्यो गाँजा बैधानिकताको विषय

तु खबर संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार ०९:२५

मकवानपुर । नेपाली कांग्रेसको चार दिनदेखि सञ्चालित महासमितिको बैठकमा गाँजा बैधानिकताको विषय उठान भएको छ । नेपाली कांग्रेस मकवानपुरका तरुण नेता एंव महासमिति सदस्य राजेश भेटवालले गाँजा कृषिलाई वैधानिता दिनुपर्ने माग राखेका हुन् ।

भेटवालले मकवानपुरको विकट क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा लगाईने गाँजालाई अब सरकारले वैधानिकता दिनेतर्फ लाग्नुपर्ने बताए ।

उनले केही दिन अघि सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई गाँजा कृषि वैधानिकता सम्बन्धि प्रतिवेदन पेश गरेका थिए । उनले महासमितिको बैठकमा उक्त विषय प्रस्तावको रुपमा टिप्न आग्रहका साथै बृहत छलफल गरी पारित गर्न समेत अनुरोध गरेका छन् ।

सरकारले अब यस विषयमा अध्ययन गरी आवश्यक कदम अघि बढाउनुपर्ने माग राखेका छन् । ग्रामीण भेगमा अत्याधिक गाँजा उत्पादन हुने र त्यसलाई राज्यबाट फँडानी गरिनुका साथै स्थानीयहरु भरियाको रुपमा अति सीमान्तकृत समूदायका चेपाङ दाजुभाईहरु पक्राउ परि भीमफेदी कारागार बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।