सभापति देउवाद्वारा कांग्रेस महासमिति बैठकको उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमिति बैठकको उद्घाटन गरेका छन् । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उद्घाटन गरेका हुन् ।
उक्त महासमितिको बैठक आजदेखि १० गतेसम्म संचालन हुनेछ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् ।
नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।
यसैगरी, अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा दुई हजार बढी प्रतिनिधिहरु सहभागी रहेका छन् ।
