कांग्रेस महासमिति बैठक आजबाट
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुने भएको छ र राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आजबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठक सुरु गर्न लागेको हो ।
बैठक आजबाट फागुन १० गतेसम्म ललितपुरको गोदावरीमा संचालन हुनेछ । आज दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।
ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुने जनाइएको छ ।
