चुरियामाई सुरुङको जीर्णोद्धार सम्पन्न

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार ०९:०८

मकवानपुर । दक्षिण एसिया कै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ’ जीर्णोद्धार सम्पन्न भएको छ । २०७९ साल वैशाख १९ गतेसम्म सुरुङ मार्ग पुनः निर्माण गर्ने भनिएपनि विविध कारणले निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङ मार्गको काम सम्पन्न गरिएको हो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको उक्त सुरुङको केही साता अघि मात्र जीर्णोद्धारको काम सम्पन्न गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित शक्तिपीठ चुरियामाई मन्दिरसँगै रहेको उक्त सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको थियो ।

करिब २२५ मिटर लामो सो सुरुङ मार्ग पुनःनिर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार रुपैयाँ रकमको लागत अनुमान गरिएको थियो ।

प्रदेश सरकारले प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले उक्त सुरुङ पुनः निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाई दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको थियो ।

सो सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनः निर्माण गरिएको छ ।