राक्सिराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ ।
राक्सिराङ–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको सो पालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
उक्त गाउँपालिका–९ को कालिका माविका विद्यार्थीलगायत दुई वटा टोलका स्थानीय बासिन्दा गरी तीन सय जना एकैचोटी भाइरल ज्वरोको प्रकोपबाट प्रभावित बनेका थिए ।
यस्तै, उक्त भाइरल ज्वरोका कारण एक जना वृद्धको केही दिनअघि मृत्यु भएको पालिका अध्यक्ष मल्लले बताए ।
स्थानीय अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधिसहित त्यस क्षेत्रमा पुगी थप उपचार गरिरहेको सो पालिकाका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए ।
अहिले प्रभावित क्षेत्रमा अन्य बासिन्दाको रगत सङ्कलन गर्न आवश्यक चिकित्सा ‘किट’, प्राविधिक जनशक्ति स्थानीय अस्पताललाई थप औषधिसहित त्यसतर्फ पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरे जानकारी दिए ।