अवैध गाँजासहित दुई जना टेम्पो चालक पक्राउ

तु खबर संवाददाता
२०८० माघ २८,आईतवार १०:०९
सांकेतिक तस्बिर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित प्रहरीले शनिबार २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका–११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिशेक शेर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका दुबै जना टेम्पो चालक हुन् । मौसम राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चकजाँच गरेको थियो ।

सो क्रममा प्रदेश १–०२–००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को.१ ह ५०९८ नम्बरको टेम्पोबाट ८८ किलो गाँजा फेला पारी उक्त टेम्पोका चालक अभिशेकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।