अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ २६,शुक्रबार १०:०७

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, धनुषा र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन ६ सय ५० मिलिग्रामसहित बुधबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही उपमहानगरपालिका–१ बसन्तटोल बस्ने १९ वर्षीय आदित चौधरीलाई पक्राउ गरेको हो । जल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको बर्दगोरिया गाउँपालिका–१ झगडपुबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय अनिल विक र २७ वर्षीय सन्तोष बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही बस्ने ४२ वर्षीय सिकिन्द्र साहलाई अवैध लागूऔषध गाँजा २ किलो ५ ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उता, उदयपुरको त्रियुगा नगरपालिका–४ बगाह शान्ती चोक बस्ने ३१ वर्षीय किरण अधिकारीलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, ब्रुपिनोर्फिन ५ एम्पुल, नाईट्रोजन ३ ट्याब्लेट र सिरिन्स ३ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा जुत्ताभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।