वृद्धामाथि धारिलो हतियार प्रहार गर्ने पक्राउ
सुर्खेत । दैलेख प्रहरीले वृद्धामाथि धारिलो हतियार प्रहार गर्ने दुई जना बालकलाई पक्राउ गरेको छ ।
प्रहरीले ज्यान मार्ने उद्योग घटनामा संलग्न कानुनको विवादमा परेका दुई जना बालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनीहरूको परिवर्तित नामथर वर्ष १४ को दैलेख–३९ र वर्ष १५ को दैलेख—३५ राखिएको छ ।
गत माघ १९ गते राति महावु गाउँपालिका–१, दवडा स्थित आफ्नै घरमा खुद्रा पसल गर्ने ७५ वर्षीया मिनादेवी शर्मा आफ्नै पसलमा सुतिरहेको बेला उनीहरुले धारिलो हतियार खुर्पा हँसिया, बियरको बोतल र काठको गरालोले टाउको, ढाड, छाती, हात खुट्टा तथा अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा १५ जनाका टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो ।
घाइतेलाई तत्काल जिल्ला अस्पताल दैलेखमा पठाई सामान्य उपचार पश्चात् थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा पठाइएको थियो । अहिले पनि उनको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
