पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने
काठमाडौं । पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
यस्तै, कांग्रेसले पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
साथै बुढाथोकीको स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने मुख्यसचिव पौडेलले बताए ।
संविधान सभा सदस्यसमेत रहेका बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो ।
