अवैध लागूऔषधसहित ७ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, सुर्खेत र कपिलवस्तु जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कन्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई पक्राउ गरेको हो ।
उनीहरुुलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, क.प्र.००२ प ३७६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
यस्तै, सुर्खेतको भेरिगंगा नगरपालिका–१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ३३ मिलिग्रामसहित प्रहरीले शनिबार तीन जनालाई पक्राय गरिएको छ । प्रहरीले गुर्वाकोट नगरपालिका–१० बस्ने २५ वर्षीय यमराज गिरी समेत ३ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.५ ख ७७०३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध चरेश ४ किलो ७ सय २० ग्रामसहित शनिबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका–३ बस्ने ३८ वर्षीया बासु घर्ती मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, सुर्खेतकमो वीरेन्द्रनगर नगरपालिका–४ चन्द्रमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने २३ वर्षीय तपेन्द्र शाहीलाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
