अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔष्धसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, नवलपरासी, दाङ र झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम र चरेश ४ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दिनेश विक समेत ३ जनालाई शुक्रबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका–१ महेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित सुनवल नगरपालिका–७ अस्नैया घर भई रूपन्देही बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्ने २८ वर्षीय सरोज चौधरी समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले लु.३५ प ५६१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने दिवश ढकाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्रामसहित कमल गाउँपालिका–५ नमुना टोल बस्ने १९ वर्षीय प्रितेश राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचिनगर नगरपालिका–६ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय विकाश विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
