अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ २०, शनिबार ०९:२१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, सप्तरी र दाङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनुर्फिन १ सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड १ सय ४५ एम्पुल र डाईजेपाम १ सय ४५ एम्पुलसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी घर भएका २६ वर्षीय ईन्द्रजित पासवान रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३–००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका–१ भन्सार चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १७ ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिरहुत गाउँपालिका–५ लोहजरा बस्ने २१ वर्षीय विनोद मण्डल र २६ वर्षीय भोले मण्डल रहेका छन् । प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, दाङको राप्ती गाउँपालिका–१ प्युठान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ७० मिलिग्रामसहित शुक्रबार सोही गाउँपालिका–१ माथिल्लो भालुवाङ बस्ने २४ वर्षीय हेमन्त रोकालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।