हेटौंडाबाट एक युवक पक्राउ

तु खबर संवाददाता
२०८० माघ १९, शुक्रबार ०९:१४

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित बिहीबार बिहान एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१२ बस्ने १९ वर्षीय निशान गोले रहेका छन् । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै बस सवार अर्का एक जनालाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।