कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार १०:१६
सांकेतिक तस्बिर

ललितपुर । कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट सोमबार एक एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाउँपालिका–२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साह रहेका छन् ।

कतार पठाइदिन्छु भन्दै २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, साहले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ४५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।