गैँडा मारेको आरोपमा हेटौंडाबाट पुरुष पक्राउ
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा हेटौंडाबाट एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेको छन् ।
उनलाई तीन वर्षपछि पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार, बोहोरालाई माघ ९ गते हेटौंडा उपमहानगरपालिका वडा नं २ चौकीटोलबाट पक्राउ गरिएको हो ।
विसं २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र विसं २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
ती घटनामा बोहोरासहित अन्य २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य तीनजना फरार रहेका छन् । उनीहरुको खोजीकार्य गर्नुका साथै पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ ।
