अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार १५:३३

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर, सुर्खेत र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातामाटे पिपल चौताराबाट सोमबार अवैध लागूऔषध खैरो हेरोइन १५ ग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ थली बस्ने २१ वर्षीय उमेश परियारलाई पक्राउ गरेको हो । प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले ना.१ ज ६१५५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने झापा घर भएका १९ वर्षीय अनमोल लामा समेत २ जनालाई सोमबार पक्राउ गरेको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१७ रानी बस्ती बस्ने मोहम्मद रब्बानी मिया र २९ वर्षीय मोहम्मद अख्तर मिया रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।