लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ ८, सोमबार १५:४०

मकवानपुर । प्रहरीले लागूऔषध गाँजासहित सोमबार दिउँसो मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नम्वर ८, दामगडेस्थित भित्री सडकखण्डबाट लागूऔषध गाँजाको धुलो ५० किलोसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका ५ घर भई हाल थाहा नगरपालिका–९, नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र थाहा नगरपालिका–३, दमकी घर भई हाल बज्रबाराही बस्ने ३२ वर्षीय रणबहादुर थिङ रहेका छन् ।

प्रहरीका अनुसार, सोमबार दिउँसो २ बजेको समयमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नम्वरको बोलेरो चेक जाँच गर्दा बोलेरो गाडीमा दुई वटा बोरामा लुकाइछिपाइ ल्याएको सो परीमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।