राष्ट्रिय सभा निर्वाचन: आज रातिदेखि मौन अवधि सुरु
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी गराएको हो ।
यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्दछ ।
साथै अन्य व्यक्ति, संस्था वा निकायले भने निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीलगायतका कार्यक्रमको आयोजना गर्न पाइने छैन ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० सदस्य पद रिक्त हुँदैछन् । तीमध्ये १९ स्थानका लागि माघ ११ गते हुने निर्वाचन हुँदैछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
