अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमााडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सल्यान, मकवानपुर, मोरङ र सप्तरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सल्यानको त्रिबेणी गाउँपालिका–६ लुहाम बजारबाट अवैध लागूऔषध गाँजा ९ सय ५० ग्रामसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरीले भारत गोसपुरपरी बस्ने २५ वर्षीय अकिल अहमदसहित दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट अवैध लागूऔषध अफिम १ किलोसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार भारत पश्चिम चम्पारन घर भएका ४० वर्षीय जगु साहसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१–००६ ख ४८८४ नम्बरको माईक्रो बसलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५९ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बस्ने २३ वर्षीय विजय विश्वास र झापा कमल गाउँपालिका–२ बस्ने २४ वर्षीय भुपेन आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ९९६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५१ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका–५ बस्ने ४२ वर्षीय रामआशिष मुखिया र हनुमाननगर कंकालनी नगरपालिका–११ बस्ने ५२ वर्षीय रूद्रनराण यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले ना.७ ख १६०५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
