व्यवसायी दुर्गा प्रसाईँले माघ ६ गते हेटौंडामा सम्बोधन गर्ने
मकवानपुर । राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मकवानपुर जिल्लाको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न व्यवसायी दुर्गा प्रसाईँ हेटौंडा आउने भएका छन् ।
महाअभियानका नारायणी अञ्चल संयोजक विजय तिमल्सिनाले सो विषयमा आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् । माघ ६ गते दिउँसो १ बजे हेटौंडाको हुप्रचौरमा कोणसभा आयोजना गरिने र सो सभालाई प्रसाईँले सम्बोधन गर्ने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन नारायणी अञ्चलभरीका करिब २५ हजार मानिसहरु उपस्थित हुने र सो कार्यक्रमको खर्च ६ लाख रुपैयाँ हुने अनुमान रहेको संयोजक तिमल्सिनाले बताए ।
बैंक, सहकारी तथा फाइनान्स पीडितहरुको पीडामा मल्हम लगाउन उहाँ आउन लाग्नुभएको हो । हामी जनताको आवाज सुन्छौँ र त्यसलाई उजागर गर्छौँ ।’ पत्रकार सम्मेलनमा तिमल्सिनाले भने ।
पत्रकार सम्मेलनमा जिल्ला संयोजक भीम राउतलगायत विभिन्न जिल्लाका संयोजकहरुको उपस्थिति रहेको थियो ।
