हेटौंडामा प्रदेश सरकार र स्थानीय तहको अधिकारबारे छलफल

तु खबर संवाददाता
२०८० पुष १२,बिहीबार १४:४०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश सरकार र स्थानीय तहको अधिकारको विषयमा अन्तरक्रिया गरिएको छ ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रदेश र स्थानीय तहको अधिकारका विषयमा छलफल भएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीय सरकारले अधिकार खोसेका कारण आफुहरु कामै गर्न नसक्ने गरी समस्यामा नपरेको बताए । संघले अधिकार प्रत्यायोजन नगर्दा केही समस्या भएता पनि काम नै गर्न नसक्ने अवस्था नरहेको उनले बताए ।

उनले आफुहरुले पाएको अधिकारबाट धेरै काम गरेर देखाएको दावी गरे । अहिलेको अवस्थामा छिटो परिणाम खोज्ने परिपाटीका कारण थप समस्या सिर्जना भएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले संघीयतालाई कार्यान्वयनमा समस्या हुँदा अन्य जटिलताहरु सिर्जना हुने बताए ।

उनले संघ र प्रदेशलाई गुनासो गर्ने भन्दा पनि अब काम गरेर देखाउन स्थानीय सरकारलाई आग्रह गर्दै संविधानमा लेखिएका एकल अधिकार र संयुक्त अधिकारका कुरा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तह र प्रदेशलाई बजेट थोरै दिएर अरु बजेट धेरै संघीय सरकारले राख्दा काम गर्न समस्या भएको गुनासो गरे । कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रदेशका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिवहरु स्थानीय तहका प्रमुखहरु लगायत सहभागी थिए ।