ढुक्क भएर आर्थिक गतिविधि गरौँः अर्थमन्त्री महत
मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले मुलुकमा आर्थिक गतिविधि ढुक्क भएर गर्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
उनले अर्थतन्त्र सुधार हुँदै गएकोले अब आर्थिक गतिविधि गर्न चिन्ता लिनुपर्ने अवस्था नरहेकोसमेत बताए ।
नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महतले वित्तीय क्षेत्रमा अनुशासन कायम भएको र मौद्रिक नीति लागू भइसकेको बताए । उनले अब उद्योग व्यवसाय फस्टाउने भन्दै हेटौँडाको औद्योगिक विकासको सन्दर्भमा समेत सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे ।
हेटौँटा सिमेन्ट उद्योगलाई व्यवस्थित गर्न चाँडै पहल गर्ने बताउँदै हेटौंडा औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र नीजि क्षेत्रसँगको सहकार्यमा अघि बढाउने उनको भनाई छ ।
महतले जग्गा कारोबारमा सुधार आएको र शेयर मार्केट बढेको, पर्यटन क्षेत्रमा सुधार आएको, रेमिटेन्स बृद्धि भइरहेको, उद्योगमैत्री कामहरु सरकारले अगाडि बढाएको उनले बताए ।
जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत कांग्रेसका २ हजारभन्दा बढी नेता तथा कार्यकर्ता उपस्थित छन् ।
यो सम्मेलनले मकवानपुरमा पार्टीको संगठन विस्तारका लागि आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने सभापति लामाले बताए ।
