गाँजाको वैधानिकताको नेतृत्व कांग्रेसले गर्नुपर्छ : भेटवाल

तु खबर संवाददाता
२०८० पुष ३, मंगलवार १३:५८

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य राजेश भेटवालले गाँजा खेतीको वैधानिकताको विषयमा कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्न जरुरी रहेको औंल्याएका छन् ।

नेपाली कांग्रेस मकवानपुरको मंगलबार हेटौंडामा हुन लागेको प्रथम जिल्ला सम्मेलनको सन्दर्भमा पार्टी सभापति बुद्ध लामालाई ज्ञापन पत्र बुझाउँदै भेटवालले यस्तो धारणा राखेका हुन् । उनले नेपालमा औषधीजन्य पदार्थको रुपमा प्रयोग गर्ने गाँजा अमेरिकाबाट आयात भइरहेको स्मरण गराउँदै देशमै सहजरुपमा उपलब्ध रहेको गाँजालाई कानुन बनाएरै खेती गर्न जरुरी रहेको औंल्याए ।

‘मकवानपुर गाँजाको उर्वरभूमि हो । अहिले गाँजा खेतीलाई अवैधानिक भनेर कृषक र भरियालाई सजाय भइरहेको छ । गाउँमा गाँजाको उत्पादन सहजै हुँदाहुँदै पनि त्यसक्षेत्रका युवाहरु धमाधम विदेशी रहेका छन् । अहिले डर लाग्दो बेरोजगारी र खस्कदो आर्थिक अवस्थालाई समेत मध्यनजर गरी गाँजाको वैधानिक खेती गर्ने गरी कानुन निर्माण गर्न कांग्रेसको पहल जरुरी छ ।’, उनले भने ।

गाँजा खेतीको विषय कांग्रेस जिल्ला भेलाको ऐजेण्डाको रुपमा रहनुपर्ने माग उनको छ । उनले गाँजाको वैधानिकताको विषयमा वाग्मती प्रदेशसभा र संघीय सदनमा समेत सांसदहरुले प्रस्ताव दर्ता गराइसकेको अवस्थामा अब छलफल गर्न ढिला गर्न नहुने बताए ।