मोटरसाइकल चोरीको आरोपमा हेटौंडाका तीनसहित चार युवक पक्राउ
मकवानपुर । मोटरसाइकल चोरी गरेको आरोपमा हेटौंडाका तीनसहित चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ घर भई काठमाडौं बौद्ध बस्ने बिजय श्रेष्ठ, हेटौंडा–८ बस्ने अमित लामा, हेटौंडा–७ घर भई ललितपुर लुभु बस्ने पासाङ लामा र रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–२ घर भई ललितपुर महानगरपालिका–९, बालकुमारी खरिबोट बस्ने पञ्चलाल ब्लोन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका–१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२–०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।
थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२–०३७प०८६२, बा.प्र.०३१ प ५८१४,बा.प्र.०२–०४५ प ९५९२ र बा.८२ प ७१२४ नम्बरको मोटरसाइकल ललितपुर विभिन्न स्थानबाट चोरी भएको खुल्न आएको हो ।
ललितपुर महानगरपालिका–२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान, भाँचिएको चाबी १ थान र हेल्मेट १ थान पनि बरामद गरिएको छ ।
उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।