लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
स्याङजा । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको फेदिखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका–२ घर भएका ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले फेदिखोलाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनी जिल्ला अदालत स्याङजाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि स्याङजा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको छ ।
