अवैध लागूऔषधसहित तीन जना पक्राउ
धनगढी । बझाङमा १४ किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले १४ किलो २१० ग्राम अवैध गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्लाको खप्तड छान्ना गाउँपालिका–७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–३ का ५५ वर्षीय राम गुरुङ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका ५ वटा बाटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुन टेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक पनि बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
