लागूऔषधसहित ५ जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर १०,आईतवार १६:१५
सांकेतिक तस्बिर

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्की, बर्दिया, मोरङ र कैलाली जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस स्थित सडकबाट ४ केजी गाँजासहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ घर भएका २० वर्षीय विनोद विक रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय गगन गौडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ प १२९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

त्यस्तै, प्रहरीले बर्दियाबाट दुई पुरुषलाई लागूऔषधसहित पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउँपालिका ८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउन सुगर १४ ग्राम ९७० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका–११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्याप्रसाद धोबी रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे १ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ वर्षीया लक्ष्मी कामतलाई लागूऔषधसहित शनिबार साँझ पक्राउ परेका छन् । उनी १ किलो ३ सय ग्राम गाँजासहित पक्राउ परेकी हुन् । उनलाई वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उता, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति उक्त लागूऔषधसहित ३४ वर्षीय साजित चौधरीलाई पक्राउ गरेको हो । चौधरीलाई प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।