अवैध लागूऔषधसहित ९ पक्राउ
मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, सिरहा, बाँके, सुनसरी, रुपन्देशी र बागलुङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित चेकप्वाइन्टबाट अवैध लागूऔषध पोल्यान्ड ३ सय ग्रामसहित शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–५ घर भएका २२ वर्षीय आशिष दाहाल रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बा.प्र.०६–००१ ख ०००१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोईन १२ ग्राम ७० मिलिग्राम र नगद १२ जार ६ सय ५० रूपैयाँसहित प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–२ बस्ने ३० वर्षीय बिश्व मित्र महतोलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बन्दिपुर र लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिक–१५ हड्डी चोकबाट अवैध लागूऔषध खैरो हेरोईन २५ ग्राम २ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका १९ वर्षीय चाँद शाह रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रूपमा खटिएको प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले सुनसरीको दुहबी नगरपालिका–५ डाँगा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ७० ग्राम ५ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत घर भएका २७ वर्षीय सोनु कुमार चौधरीसहित दुई जनालाई बुधबार राति पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले बीआर ३८ एई ६०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रमममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ देबिनगरबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ६० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने देवदह नगरपालिका–३ घर भएका २४ वर्षीय सोम बहादुर सुनारसहित दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको हो । उनीहरुलाई अस्थायी प्रहरी चौकी देविनगरबाट खटिएको प्रहरीले सुनारको डेरा तलासी गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बागलुङको काठेखोला गाउँपालिका–५ काउलेबाट अवैध लागूऔषध गाँजा १ केजी १ सय ४३ ग्रामसहित दुई जनालाई बिहीबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम श्रीस र उनकै भाइ २८ वर्षीय तिलक श्रीस रहेका छन् । उनीहरूले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी बिहुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
