अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ६, बुधबार १०:००

काठमाडौं । अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको आरोपमा प्रहरीले ६ जनालाई आइतबार दिउँसो ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका–३ घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई रहेका छन् ।

यसैगरी, पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ घर भई ललितपुर भैसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ बरेङ गाउँपालिका–४ घर भई ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई रहेका छन् ।

उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न सामाजिक संजाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले उनीहरूको साथबाट ल्याप्टप ६ थान, राउटर २ थान, कम्प्युटर ३ थान, मोनिटर २ थान, सिपीयू १ थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ ।