कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न २५ टोली खटाउने

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार १६:३४
file-photo

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न २५ वटा टोली पठाउने भएको छ ।

सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार, बैठकले १०–१० जनाको रहने गरी २५ वटा दक्ष जनशक्ति भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउने निर्णय गरेको हो ।

उनले भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने बताए ।

उक्त भूकम्प प्रभावित क्षेत्रमा पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न नेकपा एमालेले आइतबार नै ११ सय स्वयंसेवक टोली परिचालन गरिसकेको छ ।

गत १७ कात्तिक गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएर शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमलगायत ११ वटा जिल्ला प्रभावित बनेको छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबारबिहीन् भएका छन् ।