राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार १०:२४

पर्सा । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेका छन् ।

गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाइएको छ ।