घर र होटलबाट २० जना जुवाडे पक्राउ

मकवानपुर । प्रहरीले विभिन्न जिल्लाबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले झापा र भोजपुर जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना जुवाडेलाई शुक्रबार बिहान पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय टंक बरालसहित १५ जनालाई पक्राउ गरेको हो ।
उनीारुलाई ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक ताससहित पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई बिहीबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ । ती दुवै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।