नक्कली नोटसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जनालाई शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले पर्साको वीरगंज महानगरपालिका–८ घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली नोटसहित २ जनालाई शुक्रबार राति पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगंज महानगरपालिका–३१ कोनिया बस्ने २३ वर्षीय रिसि पटेललाई पक्राउ गरेको हो ।
घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रूपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र.२–०३–००१ प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
