राक्सिराङको ठाडेचुरीमा आयुर्बेद औषधालय भवनको शिलान्यास

तु खबर संवाददाता
२०८० कार्तिक २४,शुक्रबार १६:१५

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्वर ५ स्थित ठाडेचुरीमा शुक्रबार आयुर्बेद औषधालय भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

वन जङ्गलमा पाइने जडीबुटीको प्राचिन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तिको अवसरमा उक्त भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

औषधालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गरेका हुन् ।

सो क्रममा उनले पालिका भित्रका विभिन्न जडिबुटीको संरक्षण गर्न सबैको महत्वपूर्ण भूमिना रहने बताउँदै पछिल्लो समयमा आमव्यक्ति आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित २० लाख बजेट मार्फत ५ कोठे भवन निर्माण गर्न लागिएको आयुर्बेद शाखा प्रमुख रामबचन शाहले जानकारी दिए ।

उनले स्थानीय ८६ वर्षीय बयोबृद्ध रामबहादुर प्रजाले २ कठ्ठा १० घुर जग्गा दान गरेपछि उक्त भवन निर्माणको लागि बाटो खुलेको जानकारी गराए ।

सो क्रममा औषधालय भवन निर्माणको लागि जग्गा दान प्रदान गर्ने प्रजालाई गाउँपालिका अध्यक्ष मल्लले ढाका टोपी, दोसल्ला ओढाई सम्मान गरेका थिए ।

यसैगरी, उक्त शिलान्यास कार्यक्रमको बिच ४० जना सेवाग्राहीको स्वास्थ्य परिक्षण गरि आयुर्वेदिक औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला, वडा नम्वर ३ का अध्यक्ष उत्तम वाईबा, ५ नम्बर वडा अध्यक्ष हरिबहादुर प्रजा, ७ का अध्यक्ष रामबहादुर प्रजा, ८ का अध्यक्ष युसाई प्रजा र ९ का अध्यक्ष राजकुमार बल्पा थिङ्ग, कार्यपालिका सदस्य, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।