अवैध लागूऔषधसहित १५ जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक २२, बुधबार १५:४४
सांकेतिक तस्बिर

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, कैलाली, रुपन्देही, बर्दिया, झापा र बाँके गरी ६ वटा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित मंगलबार साँझ दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेदकोट नगरपालिका–६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाट रहेका छन् । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषध र सु.प.प्र ०२००३ प ७१७९ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंक स्याउले चोक बस्ने ४८ वर्षीय पदम बहादुर कार्कीलाई अवैध लागूऔषध चरेश ९२ ग्राम ४२ मिलिग्रामसहित मंगलबार साँझ पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, कार्कीले आफ्नै घरमा संचालन गरेको होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज तलासी गर्दा विभिन्न स्थानहरुमा लुकाई राखेको उक्त चरेश फेला परेपछि निजालई पक्राउ गरिएको हो ।

यस्तै, प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही उपमहानगरपालिका–३ मालिकाटोल बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ तपलाइन बस्ने २८ वर्षीय बिकास सेरबुजालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम, नगद २१ हजार रूपैयाँ र मोबाइल १ थानसहित मंगलबार साँझ पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–८ पिसिओ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ७० मिलिग्रामसहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–४ मटरिया गाउँ बस्ने २२ वर्षीय निरज कार्की रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ६ ग्राम ७ मिलिग्रामसहित मंगलबार राति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही गाउँपालिका–७ पेडारी बस्ने २२ वर्षीय अभिषेक थारू समेत २ जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी जमुनी र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, झापाबाट अवैध लागूऔषध ब्राउनसुगर १४ ग्राम ३ सय २० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क डेरा गरी बस्ने भारत बिहार घर बताउने १९ वर्षीय प्रियन्सु कुमार मण्डल, भारत जोगवनी घर बताउने १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजीम आलम रहेका छन् । उनीहरूले लागूऔषध प्रयोग गरिरहेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले झापाको बिर्तामोड नगरपालिका–८ गरामनीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्रामसहित मंगलबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–२ बस्ने २५ वर्षीय प्रतिक राईलाई पक्राउ गरेको हो । उक्त स्थानमा मे.३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले मोटरसाइकल चालक राईले नसालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले खजुरा गाउँपालिका–८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प २०२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।