अवैध लागूऔषधसहित आठ जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार १५:५३
file-photo

मकवानपुर । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कञ्चनपुर, काठमाडौं र सर्लाही गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको दुहबी नगरपालिका–८ कदमगाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३१ केजीसहित सोमबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भूमि गाउँपालिका–७ बस्ने २१ वर्षीय अनिश तामाङ रहेका छन् ।

उक्त स्थानमा प्रदेश १–०२–०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को.१ ह ८४७८ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइतेलाई उपचारको लागि दुहबी जिबन ज्योति हस्पिटल पठाई दुवै सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक अनिश तामाङको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका–१० बस्ने २६ वर्षीय सुवर्ण कुमार बोहरा र कञ्चनपुर भिमदत्त नगरपालिका–१८ बस्ने २३ वर्षीय अनिल श्रीपाली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरी राखेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सुवर्ण कुमारले आफूसँग लुकाइ राखेको प्लास्टिकको पोका खादा बेहोस भएकोमा तत्काल उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगि खाएको प्लास्टिकको पोका निकाली तौल गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएको हो ।

यस्तै, काठमाडौंको महानगरपालिका–१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६ सय एम्पुल, चक्कु २ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद ५७ हजार ६ सय रूपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्सा हरिहरपुर गाउँपालिका–११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय राम चन्द्र चमारसहित तीन जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले सर्लाहीको ब्रहमपुरी गाउँपालिका–२ झिमखोलाको बाँधस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी पञ्चायत कुरहर–४ बस्ने २८ वर्षीय संतोष राय र भारत सितामढी पञ्चायत ननपुर–९ बस्ने ३० वर्षीय रामप्रवेश महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मलंगवाबाट त्रिभुवननगरतर्फ जाँदै गरेको बिआर ०६ बिपि ८९३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती सबै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।