अब दुई हजार कैदीले जेल बाहिरै बसेर कैद भुक्तान गर्न सकिने

तु खबर संवाददाता
२०८० कार्तिक १५,बुधबार ०८:५६
file-photo

काठमाडौं । अब करिब दुई हजार कैदीले जेल बाहिरै बसेर कैद भुक्तान गर्न सकिने भएका छन् । खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा उनीहरुले जेल बाहिरै बस्ने सुविधा पाउने भएका हुन् ।

मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले सो बारे जानकारी गराएका हुन् ।

उनका अनुसार, समय–समयमा कारागारमै उपस्थित हुनुपर्ने गरी जेल बाहिर बसेर कैद भुक्तान गर्न सक्ने गरी कार्यविधि बनेको हो ।

उक्त सुविधा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारले पाउनेछन् ।

तर, जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, तेजाब आक्रमण, मानव बेचबिखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना, मानवताविरुद्धको अपराधजस्ता नकारात्मक सूचीका अपराधमा संलग्न कसुरदारले भने यो सुविधा नपाउने उनले बताए ।