अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार १७:४५

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुर र बारा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१० गैरुनकाली खोलाको नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २७ ग्राम, डिजिटल तराजु १ थान र नगद १ लाख ५४ हजार रूपैयाँसहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ ।

प्रहरीले भारत बिहार राज्य सुपौल भिमनगर थाना–८ बस्ने २७ वर्षीय जसबिन कुमार मण्डल र बिरपुर थाना–१२ बस्ने २७ वर्षीय सन्तोष कुमार महतोलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उक्त खोला नजिक रोकी राखेको बीआर ११ पीबी १३५५ नम्बरको गाडी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गियर बक्सभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले बाराको निजगढ नगरपालिका–९ भवरा पुलबाट अवैध लागूऔषध गाँजा ५ केजीसहित ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा छिरेश्वर नगरपालिका–५ बस्ने ४० वर्षीय शिव कुमार महत्तो, रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने ४३ वर्षीय प्रेम कुमार श्रेष्ठ र देबदह नगरपालिका–७ बस्ने ४२ वर्षीय बिजय कुमार थापा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले लु.१ ख ८८५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शिव कुमार, बस चालक प्रेम कुमार र सह चालक बिजय कुमारलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।