राष्ट्रिय सभाको बैठक आज पौने ५ बजे बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत पर्ने राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक आज अपराह्न पौने ५ बजे बस्ने गरी आह्वान गरिएको हो ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वाचन आयोग, नेपालको १६ औं वार्षिक प्रतिवेदन २०७८–०७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९–०८०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, ३३ औं वार्षिक प्रतिवेदन आ.व. २०७९–८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने कार्यक्रम रहेको छ ।
