अवैध लागूऔषधसहित १० जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १२, आईतवार १७:३६
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न जिल्लाको छुट्टाछुट्टै स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाली, पर्सा, कैलाली र कपिलवस्तु गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सर्लाहीको कबिलसी नगरपालिका–९ सलेम्पुरबाट अवैध लागूऔषध गाँजा २५० किलोग्रामसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–१० बस्ने २४ वर्षीय भाग्यनारायण महतोसहित दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज.१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले पर्साको वीरगंज महानगरपालिका–१६ इनर्वागाउँ चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ मिलिग्राम र नाईट्राभेट २ सय ७० ट्याव्लेटसहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन कालिकामाई नगरपालिका–६ बस्ने १९ वर्षीय सुजन तिवारी र सोही नगरपालिका– ७ बस्ने १९ वर्षीय शक्ति परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंज र अस्थायी प्रहरी पोष्ट इनर्वागाँउबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, पर्साकै पटेर्वा सुगौली गाउँपालिका–५ निचुटा नौगछियाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित जगनाथपुर गाउँपालिका–५ सोपुर बस्ने ४५ वर्षीय हिरामान यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले बीआर २२ एई ६७४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले कैलालीको भजनी नगरपालिका–२ गौनियाबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ९० मिलिग्रामसहित शनिबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–१ बस्ने २६ वर्षीय तपेन्द्र बोहरासहित दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले कैलाली कै टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय ९० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने २२ वर्षीय नरेश रावल समेत २ जनालाई शनिबार साँझ पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कपिलवस्तुको विजयनगर गाउँपालिका–२ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४५ मिलिग्राम र १ थान डिजिटल तराजुसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने २३ वर्षीय बिजय कुमार गुप्ता तेलीलाई शनिबार साँझ पक्राउ गरेको छ । तेलीले लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।